नेपाल सरकारका जिल्ला स्थित कार्यालयहरुलाई रकम निकासा दिने, आन्तरिक लेखापरीक्षण गरी प्रतिवेदन उपलब्ध गराउने र विनियोजन, राजश्व तथा धरौटीको एकिकृत विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पेश गर्ने लगायतका कार्य सम्पादनका लागि आय व्यय संचालन कार्यविधि नियमावली, २०३८ बमोजिम वि.सं.२०३८ साल श्रावण १ गते देखि महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधिको रुपमा जिल्लास्तरमा कोष तथा लेखा नियन्त्रक कार्यालयहरुको स्थापना हुने क्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय, प्यूठान वि.स.२०३८ सालमा स्थापना भएको हो ।चौमासिक निकासा, मासिक सोधभर्ना निकासा लगायतका पद्धतिबाट बजेट निकासाको कार्य हुँदै आएकोमा सूचना प्रविधिमा भएको विकासलाई आत्मसात गर्दै सरकारको वित्तीय एवं खर्च एवं नगद व्यवस्थापनको कार्यलाई Real time मा आधारित, मितव्यायी, पारदर्शी र प्रभावकारी तुल्याई वित्तीय जोखिम न्यून गर्दै सरकारको कोष प्रणालीलार्इ अन्तराष्ट्रियस्तरको बनाउने उद्देश्यले २०६७ श्रावण १ गते देखि इन्टरनेट प्रणालीमा आधारित एकल खाता कोष प्रणाली (Treasury Single Account-TSA) लागू भएपछि सञ्चालनमा आएको हो । एकल खाता कोष प्रणाली (TSA) लागू भएपछि महालेखा नियन्त्रक कार्यालय मातहत प्यूठान जिल्लामा रहेका बजेट निकासा/भुक्तानी गर्ने कोष तथा लेखा नियन्त्रक कार्यालयहरु बिच समन्वय, सुपरीवेक्षण एवं वित्तीय प्रभावकारीता अभिबृद्धिका लागि स्थापना कालमा कार्यालय प्रमुखको रुपमा रा. प. तृतिय श्रेणी कोष नियन्त्रक दरबन्दी रहि आएकोमा हाल रा.प. द्धितीय श्रेणीको प्रमुख कोष नियन्त्रक कार्यालय प्रमुख रहने गरी दरबन्दी परिवर्तन भएको छ । सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुका अतिरिक्त वित्तीय व्यवस्था तर्फको भुक्तानी/निकासाको कार्य एवं सरकारी कारोबार निर्देशिका बमोजिम कार्यका साथै एकिकृत विवरण तयार गर्ने गर्दछ ।